भैरहवा, २९ बैशाख ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजन प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट क्लब विजयी भएको छ । रुपन्देही जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबार भएको खेलमा तिलोत्तमाले जेआर क्रिकेट क्लबलाई ३० रनले पराजित गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपथ्य तिलोत्तमाले ४२.३ ओभरमा १ सय ६९ रन बनायो । उसका लागि कृष्ण भुसालले ३४, प्रतीक भट्टराईले २५, अमन बोहराले २१, रोशन घिमिरेले १४ रन बनाए । जेआरका कृष्ण पन्थी, खडक बोहरा र विनय जिसीले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको जेआरले ४७ ओभरमा १ सय ३९ रनमा समेटियो । उसका लागि राज खनालले ६०, विशाल भुसालले १५, रोजन कुमालले १४, गगन अधिकारीले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । नेपथ्य तिलोत्तमाका मौसम ढकाल र कृष्ण भुसालले ३–३ तथा सन्दीप यादवले २ विकेट लिए । खेलमा कृष्ण भुसाल प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँबाट पुरस्कृत हुने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।




















