बुटवल, २९ वैशाख ।
नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको आयोजनामा औषधि व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । मंगलबार बुटवलमा आयोजित तालिममा जिल्लाभरिका औषधि व्यवसायीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलले औषधि व्यवसायीहरु स्वयं दक्ष, जिम्मेवार र व्यावसायिक रूपमा सक्षम हुन आवश्यक रहेको बताएका थिए । उनले बदलिँदो समयसँगै व्यवसायीहरुले नेतृत्व क्षमता विकास गर्दै सेवामुखी व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष तथा विशेष सल्लाहकार बाबुराम भट्टराई, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष तथा विशेष सल्लाहकार शिव ज्ञवालीले ब्यवसायमा देखिएका चुनौतीहरु र समाधानबारे प्रकाश पारे ।
तालिममा जिल्ला शाखा रुपन्देहीका कानुनी सल्लाहकार युवराज घिमिरेले औषधि व्यवसाय सञ्चालन, क्लिनिक दर्ता तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए भने प्रशिक्षक ऋषि न्यौपानेले नेतृत्व विकास सम्बन्धी सहजीकरण गरेका थिए ।
त्यसैगरी, बजारमा औषधि व्यवसाय क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा तथा समसामयिक विषयमा संस्थापक अध्यक्ष सुरज भट्टराईले धारणा राखेका थिए ।
कार्यक्रम संयोजक तथा जिल्ला शाखा रुपन्देहीका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम भट्टराई, महासचिव कृष्ण प्रसाद शर्मा पोख्रेल तथा जिल्ला शाखा अध्यक्ष खड्ग बहादुर बस्नेतले संस्थाको वार्षिक कार्ययोजना अनुसार व्यवसायीहरुको हकहित संरक्षण तथा क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको बताएका थिए ।




















