Spread the love

बुटवल, १० पुस । बुटवलमा भएको जिल्लास्तरीय अन्तर विद्यालय रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिताको उपाधि ग्रिन प्लान्ट इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ वार्षिकोत्सवको अवसर विहिबार आयोजना गरिएको १२ औँ संस्करणको प्रतियोगिता ग्रिन प्लान्ट जितेको हो । उपाधिसँगै ग्रिन प्लान्टले नगद १० हजार रुपैयाँ, रनिङशिल्ड, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

प्रतियोगितामा अक्सफोर्ड मावि दोस्रो हुदै ७ हजार ५ सय र सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुल तृतीय स्थान हासिल गर्दै नगद ४ हजार ५ सय रुपैयाँ प्राप्त गरेको कार्यक्रम संयोजक नेत्र भट्टराईले बताए । प्रतियोगितामा जिल्लाका ४४ वटा विद्यालयहरुले प्रतिस्प्रर्धा गरेका थियो । सहभागीमध्ये अक्सफोर्ड मावि, देवदह इङ्लिस बोर्डिङ स्कुल, ग्रिन प्लान्ट इङ्लिस बोर्डिङ स्कुल , सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुल र ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलले छनौट चरण पार गरेका थिए भने गत वर्षको विजेता एभरेष्टले भने स्वत छनौटमा परेको थियो ।

प्रतियोगिताको जिल्ला शिक्षा समन्वय एकाई रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले उद्घाटन गर्दै विद्यार्थीलाई विश्व गतिविधिबारे अपडेट हुने र बौद्धिक क्षमता वृद्धिमा कार्यक्रम फलदायी हुने बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले विद्यार्थीहरु किताबी ज्ञानसँगै आइक्यु, जिके लगायतमा पनि अब्बल हुनु आवश्यक रहने बताए । आइक्यु, जिकेमा अब्बल भए ब्यवहारिक रुपमा पनि भविष्यमा लोकसेवा लगायतका परीक्षामा समेत उत्तिर्ण हुन सहज हुने उनको दाबी छ । विद्यार्थीहरुलाई आफ्नो बौद्धिक ज्ञानको परीक्षण गर्ने मौका मिलोस भन्ने उद्धेश्यका कारण विद्यालयले अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको बताए ।

कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले यस प्रकारका प्रतियोगिता आयोजना गर्दा विद्यालयहरु विच आत्मिय सम्बन्ध प्रगाढ हुने बताए । उनले स्कलर्स होमलाई यो प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गरि राख्न पनि आग्रह गरे ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न २८ विधामा खेलकुदका कार्यक्रम सम्पन्न समेत गरिसकेको कार्यक्रम लेखा प्रमुख लोकप्रसाद भण्डारी (राजु) ले बताए ।

 

 

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्