बुटवल, १ बैशाख ।
नेपाली नया वर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज बैसाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । नेपाली नयाँ वर्ष सबैभन्दा पूरानो संवतका रूपमा विक्रम संवत स्थापित छ । सोही संवतको आज पहिलो दिन हो ।
रुपन्देहीका पर्यटकिय स्थलहरुमा आन्तरिक पर्यटकहरुको बिहानैबाट भिडभाड छ । सामारिक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान संरक्षण समिति बुटवल फुलबारी, तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) लगायत नुवाकोट र बसन्तपुर केबलकारमा पर्यटकहरुको घुईचो रहेको छ ।
मणिमुकुन्द सेन उद्यान संरक्षण समिति बुटवल फुलबारीका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले पर्यटकलाई सहज अवलोकनको ब्यवस्था गरिएको बताए । प्रत्येक वर्ष फुलबारी अवलोकन गर्न हजारौ पर्यटकहरु भित्रने हुदा पनि ब्यवस्थापनको राम्रो तयारी रहेको उनले बताए । ‘नया वर्ष, शिवरात्री लगायतका विशेष दिनमा दर्शक अत्याधिक चाप हुने गरेको छ ।’– उनले भने ।
यता शंकरनगर वन बिहारमा समेत पिकनिक मनाउनेहरुको भिड लागेको छ । अन्य दिनभन्दा नया वर्ष विशेष हुने केन्द्रका अध्यक्ष खिमलाल पाण्डेयले बताए । अधिकाश पिकनिक स्पटहरु भरिएको उनले बताए । पार्कमा रहेको साहसिक खेलमा रमाउने समेत भिड रहेको छ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा बैसाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् ।
आज बिहानै नुहाउने, घरकोठा तथा आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजाआराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी सङ्कल्प गर्दछन् ।


















