काठमाडौँ । आगामी निर्वाचनलाई सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न सरकारले करिब साढे पाँच लाख सुरक्षाकर्मी तथा कर्मचारी परिचालन गरेको छ ।
प्राप्त विवरणअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेनाबाट ७८ हजार ७२७ जना, नेपाल प्रहरीबाट ७५ हजार ८७८ जना र सशस्त्र प्रहरी बलबाट ३४ हजार ५६७ जना परिचालन गरिनेछ । त्यसैगरी, राष्ट्रिय अनुसन्धान विभागका ८ हजार ७२७ कर्मचारी खटाइनेछन् ।
निर्वाचनका क्रममा मतदान केन्द्र तथा मतदान स्थलमा सुरक्षाको दोस्रो घेराका रूपमा निर्वाचन प्रहरीका १ लाख ४८ हजार ८० जना परिचालन हुने जनाइएको छ । यस्तै, मतदान अधिकृत, सहायक कर्मचारीलगायत गरी २ लाख १५ हजार कर्मचारी निर्वाचन व्यवस्थापनमा खटिनेछन् ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई बहुस्तरीय रूपमा परिचालन गरिने तयारी गरिएको हो । सरकारले मतदान केन्द्रको सुरक्षा, मतपेटिका ओसारपसार, संवेदनशील क्षेत्रको निगरानी तथा आपतकालीन अवस्थाको व्यवस्थापनका लागि समन्वयात्मक ढंगले सुरक्षा योजना कार्यान्वयन गर्ने जनाएको छ । सरकारले नागरिकलाई निर्भय भई मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

















