बुटवल, ७ फागुन ।
बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा ल्याउन नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । आगामी निर्वाचनको सन्दर्भमा बुटवलमा आयोजित युवा उद्यमीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले पौडेलको विगतको कार्यसम्पादनको स्मरण गरे ।
युवा उद्यमीहरुलाई अझै पनि काम गर्ने सहज वातावरण नरहेको भन्दै नीतिगत रुपमा पहल जरुरी रहेको बताए । कार्यक्रममा सहभागी उद्यमीहरूले विष्णु पौडेल अर्थमन्त्री हुँदा निजी क्षेत्र र अर्थतन्त्रको विकासका लागि चालेका कदमहरूको प्रशंसा गरे । युवाहरूले मुलुकको विकास र समृद्धिको एजेन्डालाई अगाडि बढाउन सक्ने अनुभवी नेताको रूपमा पौडेललाई चित्रण गरेका थिए ।
नियमसंगत कर बुझाएर करचुक्ता प्रमाणपत्र लिँदा पनि विभिन्न सरकारी कार्यालयहरूले पुनः अडिट रिपोर्ट मागेर दुःख दिने गरेको उद्यमीहरुको दुखेसो गरे । उनीहरूले नीतिगत सुधार गरेर व्यवसायमैत्री वातावरण बनाउन पौडेलसँग आग्रह गरे ।
बुटवलको आर्थिक र व्यावसायिक भविष्यका बारेमा केन्द्रित उक्त कार्यक्रममा बुटवल र आसपासका क्षेत्रका युवा उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले नयाँ पुस्तालाई स्वदेशमै बसेर काम गर्ने वातावरण निर्माण गर्न सरकारबाट ठोस योजना ल्याउनुपर्नेमा जोड दिए । जवाफमा नेता पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्न आफू सधैं तत्पर रहेको र नीतिगत गाँठो फुकाउन आगामी दिनमा थप सक्रिय हुने आश्वासन दिएका थिए ।
कार्यक्रममा एमालेका समानुपाति तर्फका उम्मेदवार समेत रहेका उद्योगी एजाज आलमले रुपन्देहीको औद्योगिक बिकासका लागि नेकपा एमालेको जित आवश्यक रहेको बताए । उनले आफुले संसदमा प्रतिनिधीत्व गर्ने अवसर पाएमा रुपन्देहीको मात्रै नभई समग्र औद्योगिक बिकासका लागि पहल गर्ने बताए ।
कार्यक्रमको युवा उद्यमी सुमन बस्यालले सहजिकरण गर्दै व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका व्यवहारिक कठिनाइहरूबारे पौडेलको ध्यानाकर्षण गराए । विशेष गरी भन्सार प्रक्रियामा रहेको झन्झट र कर प्रशासनको अस्पष्टताले गर्दा लगानीको वातावरण बिग्रिएको उनीहरूको गुनासो थियो ।





















