नवलपरासी,६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार राम प्रसाद पाण्डेले नवलपरासीको समग्र विकास र जनअपेक्षा सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानमा सक्रिय पाण्डेले स्थानीयको भावना बुझ्न र समस्या समाधान गर्न स्थानीय भूगोल, परिवेश र समुदायसँग घुलमिल भएको उम्मेदवार आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेशको विकट क्षेत्रका रूपमा चिनिने सुस्तासहित समग्र क्षेत्र नम्बर १ को विकासलाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।
गत स्थानीय तह निर्वाचनमा सुस्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भई सफल कार्यकाल पूरा गरेका पाण्डे विकासप्रेमी नेताका रूपमा परिचित छन्। उनले नारायणी नदी पारीको सुस्ता जोड्ने नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गराएर स्थानीयको दैनिकी सहज बनाएको दाबी गरे। साथै, केरा तथा उखु कृषकहरूको उत्पादन बजारीकरणमा आफूले निरन्तर सहयोग गरेको बताए।
पाण्डेले क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बर्दघाट नगरपालिकाको उत्तरी भेग संसारकोट, आम्बास र सुखौरामा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रको प्रवद्र्धनमा विशेष पहल गर्ने प्रतिबद्धता जनाए। उनले संसदीय निर्वाचनमार्फत क्षेत्रीय विकासलाई तीव्रता दिने लक्ष्य रहेको बताए ।
त्यसैगरी, अनुमाघाट, बुद्ध सर्किट, बुद्धमंगल ताल, कञ्चनकुटी पर्यटन क्षेत्र, कुमारवर्ती, बालपुरी मठलगायत धार्मिक तथा पर्यटकीय स्थलको विकासमा आफू प्रतिबद्ध रहेको उनले बताए।





















