Spread the love

काठमाडौं । पाकिस्तान ‘ए’सँग ९६ रनको फराकिलो हार बेहोर्दै नेपालले कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको यात्रा टुंग्याएको छ । मंगलबार भएको खेलमा १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो ।
यसअघि पहिलो खेलमा भारत ‘ए’सँग २६ रनमै अलआउट भएको नेपालले पाकिस्तान ‘ए’विरुद्ध पनि कमजोर ब्याटिङ प्रदर्शन दोहो¥यायो।
युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा भएको खेलमा नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५१ बलमा ४ चौका र २ छक्का प्रहार गरे। बसिर अहमदले १९ बलमा २ चौकासहित ११ रन बनाए भने देव खनालले ८ रन जोडे। अभिशेष गौतम १ रनमा अविजित रहे । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तान ‘ए’का मोहम्मद हसनैन र सुफयान मोकिमले समान ३ तथा मोहम्मद इमरानले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तान ‘ए’लाई नेपालले ४२ ओभरमा १ सय ६८ रनमा समेटेको थियो। नेपालका रशिद खानले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिए। लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा रशिदको यो पहिलो पाँच विकेट प्रदर्शन हो।

अभिशेष गौतमले ९ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट हात पारे । पाकिस्तान ‘ए’का रोहाइल नाजिर ८३ बलमा ४ चौका र ३ छक्कासहित ६४ रन बनाएर अविजित रहे। हसन नवाजले २८ तथा अहमद डानियलले १६ रन जोडे। नाजिर र डानियलबीच सातौँ विकेटका लागि ७० रनको साझेदारी भएको थियो । अभिशेषले अन्तिम ब्याटर हसनैनलाई एलबीडब्लु आउट गरेपछि पाकिस्तान ‘ए’को इनिङ्स १६८ रनमा सीमित भएको थियो।

समूह ‘बी’मा पाकिस्तान ‘ए’ तीनवटै खेल जित्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको छ। भारत ‘ए’ दुई खेल जित्दै उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ। नेपालले भने तीन खेलमध्ये एक खेलमा मात्रै जित निकाल्न सफल भयो।

">
Bajaj Grand Exchange Mela