Spread the love

तिलोत्तमा, ८ मंसिर । तिलोत्तमामा जारी चौथो तिलोत्तमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा विद्यार्थीलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले सफल उद्यमीका अनुभव र संघर्षका कथा सुनाइएको छ । मंगलबार मेला अवलोकनका लागि आएका विभिन्न विद्यालयका एक हजारभन्दा बढी विद्यार्थीलाई उद्योग, व्यापार तथा व्यवसाय सञ्चालनका चुनौती, अवसर र सफलताका आधारबारे जानकारी दिइएको हो ।

कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष एवं सफल व्यवसायी ज्ञानेन्द्र कार्की, गण्डकी चिउरा उद्योगका सञ्चालक तथा संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, सत्यवती वि कन्सर्नका सञ्चालक एवं महासचिव राजकुमार पाण्डे र माउन्ट एभरेष्ट कत्था उद्योगका सञ्चालक तथा संघका सहकोषाध्यक्ष वसन्त रोकाले आफ्ना व्यावसायिक अनुभव सुनाएका थिए ।

उनीहरूले व्यवसाय सुरु गर्दाका चुनौती, निरन्तर मेहनत, जोखिम बहन गर्ने क्षमता, धैर्य र अवसरको पहिचानले उद्यमशीलतामा सफलता हासिल गर्न सकिने अनुभव विद्यार्थीमाझ साझा गरेका थिए । विद्यार्थीको सहभागिता र सहज सिकाइलाई ध्यानमा राखेर कार्यक्रम विभिन्न समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो । सफल उद्यमीका प्रत्यक्ष अनुभव सुन्न पाउँदा उद्योग, व्यापार र स्वरोजगारका सम्भावनाबारे बुझ्ने अवसर मिलेको आयोजकले जनाएको छ ।

‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ नारासहित आयोजित मेलामा उद्यमशीलता प्रवद्र्धनलाई विशेष महत्त्व दिइएको छ । करिब ३२५ स्टल रहेको १४ दिने मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री भइरहेको छ । कृषि तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन र गतिविधि समेटिएको संघका महासचिव तथा मेलाका प्रवक्ता राजकुमार पाण्डेले बताए ।

मेलालाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी मनोरञ्जन, संस्कृति र पर्यटनसँग समेत जोडिएको छ । पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामका कलात्मक संरचना, रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम तथा बालउद्यान मेलाका प्रमुख आकर्षण रहेका छन् ।

">
Bajaj Grand Exchange Mela