बुटवल, ८ मंसिर ।
भलिबल खेलको विकास र युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ बुटवलमा अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ बुटवल ईलिटको आयोजनामा मंसिर ११ देखि १३ गतेसम्म विद्यालयस्तरीय डिष्ट्रिक गभर्नर अन्तर विधालय छात्र भलिबल ईलिट कप २०८३ हुने भएको हो ।
प्रतियोगिताको तयारीबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरि लायन्स क्लब अफ बुटवल ईलिटका अध्यक्ष सुभाष अर्यालले विभिन्न उपसमितिमार्फत काम भैरहेको बताए । ‘भलिबल खेलको विकास, बिस्तार तथा विधार्थीहरुको खेलकुद प्रतिको रुचि अभिवृद्धि गर्ने उदेश्यले प्रतियोगिता गर्न लागेका हौ।’–उनले भने ।
कार्यक्रममा लायन्स ईन्टरनेशनल ३२५ पि का डिजि सन्दिप कशौधनले प्रतियोगिताको कप अनावरण गर्दै सामाजिक गतिविधिसंगै समुदाय केन्द्रिय विविध कार्यहरुमा लायन्स अग्रसर रहेको बताए । जहा आवश्यकता हुन्छ त्यही लायन्स पुग्ने भन्दै उनले विगतमा अन्य खेल प्रतियोगितामार्फत योगदान दिदै आएको दाबी गरे ।
प्रतियोगिताको उपाधि विजेता टिम नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ४० हजार, तृतिय टिमले नगद २० हजार तथा सान्त्वना टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, स्पाईकर, ब्लकर, डिफेन्डर, सर्भर, अनुशासित खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उदयीमान खेलाडीहरुलाई समेत पुरस्कृत गरिने खेल संयोजक अरुण ज्ञवालीले बताए ।
न्यू होराईजन स्पोर्टस क्लबको प्रशिक्षण केन्द्र देविनगरमा हुने प्रतियोगितामा कान्ति माबि, नबिन औधोगिक कदरबहादुर रीता माबि, न्यू होराईजन माबि, कालिका मानवज्ञान माबि, दीप बोर्डिङ हाई स्कुल, मणिमुकुन्द कलेज बुटवल, सेन्ट जोसेफ ईगलिस बोर्डिङ सेकेण्डरी स्कुल गरि ८ टिम बिच लिक कम नकआउट आधारमा प्रतिस्पर्धा हुने छ । निरोग हेल्थ क्लिनिकबाट प्राथमिक स्वास्थ्य उपचार तथा खेल अवधिभर अधिकतम १ लाख रुपैयासम्म खेल दुर्घटना बीमाको ब्यवस्था नेको ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट भएको सचिव राजन ज्ञवालीले बताए । तीन दिनसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न करीब १० लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।





















