काठमाडौ,६ मंसिर ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेलको प्रतियोगिता स्थल सार्वजनिक भएको छ । यही मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्ले आज प्रतियोगिता स्थल सार्वजनिक गरेको हो ।
खेलकुद परिषद्ल सार्वजनिक गरेको विवरण अनुसार एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ । त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिए ।
उनका अनुसार, टेनिस, महिला तथा पुरुष खो–खो (बर्दिया), पौडी र सुटिङ (नेपालगञ्ज) हुनेछ । त्यस्तै, जुडो र कुस्ती (सल्यान), आइटिएफ तेक्वान्दो (दैलेख), महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल (जुम्ला), बुद्धिचाल (कालीकोट), शारीरिक सुगठन (पश्चिम रुकुम)मा हुनेछ ।
सदस्यसचिव मेहत्ताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल हुनेछन् । त्यस्तै, बाँके र बर्दियामा दुई/दुई खेल सञ्चालन गरिनेछ । प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा ३२ खेल समावेश रहेको आयोजकले जनाएको छ ।





















