काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा ग¥यो। सुदूरपश्चिमको जितमा जर्ज मुन्सीले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा अविजित १२५ रन बनाए। उनले शतकीय पारी खेल्दै टोलीलाई सहज जित दिलाए। विनोद भण्डारी ३० रनमा अविजित रहे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए। कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अली शेखले २४ तथा डिआर्सी सर्टले २१ रनको योगदान दिए।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले दुई विकेट लिए। हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे।
यसअघि लगातार दुई सिजन फाइनलमा पुगेर उपाधि जित्न नसकेको सुदूरपश्चिमले तेस्रो प्रयासमा च्याम्पियन बन्ने सपना पूरा गरेको हो। यससँगै उसले अघिल्लो सिजनको फाइनलमा लुम्बिनीसँग बेहोरेको हारको बदला पनि लिएको छ।
उता, अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स लगातार दोस्रोपटक फाइनलमा पुगे पनि यसपटक उपविजेतामै सीमित भएको छ।





















