बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७, पातुन्डाँडास्थित श्री भगवती माध्यमिक विद्यालयमा छात्राहरूका लागि शौचालय निर्माण गर्ने भएको छ । सामाजिक क्षेत्रको गतिविधिमा काम गरेर आफनो पहिचान बनाएको क्लबले रोटरी डिष्ट्रिक ग्राण्डको सहयोगमा छात्रा शौचालय निमार्ण थालेको हो ।
बुधबार एक समारोहका बिच क्लबका अध्यक्ष धर्मदत्त ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल्सीबहादुर रायमाझी, प्रधानाध्यापक कृष्ण क्षेत्री, कार्यक्रम संयोजक डी.बी. रायमाझीले छात्रा शौचालय शिलान्यास गरे । बेसिक एजुकेसन एन्ड लिटरेसी कार्यक्रममार्फत शौचालय निमार्ण गर्न लागेको क्लबका अध्यक्ष ज्ञवालीले बताए । डिष्ट्रिक ग्राण्ड र क्लबबाट गरि करिब ४ लाख रुपैया लागतमा शौचालय निमार्ण गर्न लागेको उनले बताए । ‘२ महिनाभित्र निमार्ण सकिने छ ।’– उनले भने ।
कार्यक्रम संयोजक डी.बी. रायमाझीले क्लबबाट वर्षभरि विभिन्न क्षेत्रमा गरेको कार्यक्रमहरु बारे प्रकाश पार्दै शैक्षिक र स्वास्थ्यलाई मध्येनजर गरि सो गाउपालिकामा कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा समाजसेवी चन्द्र थापा, हरि श्रेष्ठ, झविन्द्र रायमाझी, बोमबहादुर रायमाझी, यमबहादुर थापा, विष्णुप्रसाद आचार्य, अनुपकुमार सिंह, विद्यालयका पूर्वशिक्षक सुन्दर सिंह ठकुरी, क्लबका उपाध्यक्ष कमल नेपालले विद्यालयमा छात्राहरूका लागि छुट्टै शौचालय निर्माण भएपछि सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सुविधा थप हुने बताए ।





















