Spread the love

सुनसरी । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा फरार रहेका बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष टोलीले उनीहरूलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पक्राउ पर्नेमा सहकारीका संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) र अस्मिता भण्डारी रहेका छन्। प्रहरीका अनुसार विश्वकर्मा सुनसरीको धरान उपमहानगरपालिका–१२ मा जन्म भई काठमाडौं महानगरपालिका–२२ बस्दै आएका ४५ वर्षीय व्यक्ति हुन्। उनी बाराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक हुन्।

त्यस्तै, ३३ वर्षीया भण्डारी धरान उपमहानगरपालिका–१५ निवासी हुन्। उनी सहकारीको ऋण उपसमिति सदस्य तथा ग्राहक सेवा (कस्टमर केयर) मा कार्यरत थिए । प्रहरीका अनुसार बाराह बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी प्रकरणमा १७ हजार २० जना पीडित रहेका छन्। शंकर थापासहित ४ हजार २४३ जनाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९११ रुपैयाँ बिगो रहेको उल्लेख छ।

प्रहरीको प्रेस विज्ञप्तिमा सहकारी संस्थासँग आबद्ध रहेर नेपालमा ३० वटा र विदेशमा आठवटा कम्पनीसमेत स्थापना गरिएको उल्लेख छ। विभिन्न मितिमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी गरी प्रतिवादीहरू फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

">
Bajaj Grand Exchange Mela