बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्री पदमा रीता केसी क्षेत्रीले दाबेदारी प्रस्तुत गरेकी छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी क्षेत्रीले पार्टीका विभिन्न भ्रातृ तथा शुभेच्छुक संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै प्रदेश नेतृत्वमा पुग्ने लक्ष्यसहित आफ्नो आकांक्षा अघि सारेकी हुन्।
नेपाल किसान महासंघ लुम्बिनी प्रदेशकी अध्यक्षसमेत रहेकी क्षेत्रीले नेपाल विद्यार्थी संघ, तरुण दल र नेपाल महिला संघमा रहेर संगठनात्मक जिम्मेवारी सम्हालिसकेकी छन्। उनले नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभाग सदस्यका रूपमा समेत काम गरिसकेकी छन्।
त्यस्तै, अनुगमन तथा मूल्यांकन समितिमा रुपन्देहीको जिल्ला सदस्य सचिव तथा महिला संघको जिल्ला सदस्य भएर काम गरेको अनुभव पनि उनीसँग छ।
पछिल्लो समय किसान महासंघको संगठन विस्तारमा सक्रिय क्षेत्रीले लुम्बिनी प्रदेशका ११ वटै जिल्लामा पुगेर संगठनात्मक गतिविधि तथा अधिवेशन प्रक्रियामा सहभागिता जनाएकी थिइन्। जिल्लादेखि प्रदेश तहसम्मका नेता तथा कार्यकर्तासँगको निरन्तर सम्पर्क र संगठन निर्माणमा गरेको सक्रियतालाई उनले आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेकी छन्।
महिलालाई पार्टीमा सहभागितामा मात्र सीमित नराखी निर्णय गर्ने तहसम्म स्थापित गर्नुपर्ने उनको धारणा छ। विद्यार्थी, युवा, महिला तथा किसान संगठनमा काम गर्दाको अनुभवलाई प्रदेश नेतृत्वमा उपयोग गर्दै पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण उपस्थिति बढाउने उनको लक्ष्य रहेको छ।
विभिन्न जिम्मेवारीमा रहेर पार्टी संगठनका लागि गरेको योगदान र अनुभवलाई अब प्रदेश नेतृत्वमा उपयोग गर्न चाहेको बताउँदै क्षेत्रीले नेता तथा कार्यकर्तासँग साथ, सहयोग र विश्वासको अपेक्षा गरेकी छन्।
यसअघि नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य अन्जना केसीले पनि महिला महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेकी छन्। दुई जनाको दाबेदारीसँगै कांग्रेस लुम्बिनीको महिला महामन्त्री पदको प्रतिस्पर्धा थप चासोपूर्ण बनेको छ।





















