Spread the love

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको रकम विदेश पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन् ।

त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन कानून अधिकृत (उपसचिव) निर्मला गुरुङ पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारी (एमओयू) विपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम विदेश पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको आरोप छ ।

उक्त प्रकरणमा ८३ लाख अमेरिकी डलर ८३ हजार ४३९ दशमलव ९२ र ३७ लाख १७ हजार ९८० दशमलव ८० पाउन्ड गरी नेपाली रुपैयाँ १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय गरिएको प्रहरीको दाबी छ ।

श्रमिकलाई संगठित रूपमा ठगी गर्ने कार्य रोक्न तथा गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूविरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएर मंगलबार काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेका सबैमाथि ठगीसम्बन्धी कसूर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ ।

">
Bajaj Grand Exchange Mela