काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन बेटिङ (सट्टेबाजी) गराएको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतको राजस्थान राज्य, श्रीगंगानगर निवासी ३५ वर्षीय रोहित परियारलाई काठमाडौंको ढल्कुबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग–२०२६ का खेलमा अनलाइनमार्फत सट्टेबाजी गराउने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।
परियारले आफ्नो साथमा रहेको मोबाइल फोन प्रयोग गरी allpanelexch9.global नामक अनलाइन बेटिङ साइटमा लगइन गरेर एनपीएलका क्रिकेट खेलमा पटक–पटक गरी नेपाली ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको रकम सट्टेबाजीमार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका परियारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल वा सट्टेबाजी गर्न नहुने) कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।





















