Spread the love

काठमाडौं । देशका विभिन्न पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्यामुक्त पालिका घोषणा गरिएको छ। भूमि समस्या समाधान समितिका अनुसार बागलुङ, डोल्पा, सोलुखुम्बु र रुकुम पूर्वका पाँच पालिका समस्यामुक्त घोषणा भएका हुन्।

समस्यामुक्त घोषणा हुनेमा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन्।

यसैबीच, महोत्तरीको एकडारा गाउँपालिका–२ का १९६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

साविक एकडारा गाविसका वडा नम्बर ५, ७, ८ र ९ मा बसोबास गर्दै आएका परिवारलाई नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो। उक्त क्षेत्रको नापजाँच २०७३ सालमै सम्पन्न भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा पुर्जा वितरण रोकिएको थियो।

लालपुर्जा प्राप्त भएसँगै स्थानीय परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ। उनीहरूलाई जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन तथा जग्गासम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ।

भूमि समस्या समाधान समितिका अनुसार हालसम्म देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित तथा स्ववासी गरी ६ हजार ७३८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ।

सरकारले वर्षौंदेखि भूमिसम्बन्धी समस्या भोग्दै आएका नागरिकलाई जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने लक्ष्यसहित लालपुर्जा वितरण प्रक्रियालाई थप सरल, सहज र छरितो बनाउने जनाएको छ।

 

">
Bajaj Grand Exchange Mela