काठमाडौँ । ब्राजिलका पूर्वस्टार फुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः फुटबल मैदानमा फर्किएका छन् । उनले आइतबार इटालीको तेस्रो डिभिजन क्लब राभेन्नाबाट खेल्दै व्यावसायिक फुटबलमा पुनरागमन गरेका हुन् । उनको पुनरागमनको खेलमा राभेन्नाले २–० गोलको जित निकालेको छ ।
सन् २०१५ मा फ्लुमिनेन्सबाट अन्तिम व्यावसायिक खेल खेलेपछि फुटबलबाट टाढिएका रोनाल्डिन्हो गत अगस्टमा लगानीकर्ताका रूपमा राभेन्ना क्लबमा आबद्ध भएका थिए । यसपटक भने उनी खेलाडीका रूपमा समेत मैदानमा उत्रिएका हुन् ।
विश्व फुटबलका चर्चित खेलाडीमध्ये एक रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् २००६ मा बार्सिलोनाबाट यूईएफए च्याम्पियन्स लिग जितेका उनले स्पेनिस ला लिगा र इटालियन सिरी ‘ए’ को उपाधिसमेत जितेका छन् ।
उनले सन् २००५ मा प्रतिष्ठित बालोन डी’ओर र फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए । आफ्नो व्यावसायिक खेल करियरमा उनले कुल २९९ गोल गरेका थिए ।
बार्सिलोनाका अतिरिक्त रोनाल्डिन्होले पेरिस सेन्ट जर्मेन (पीएसजी), ग्रेमियो, फ्लामेङ्गो, एट्लेटिको मिनेरो, फ्लुमिनेन्स र मेक्सिकोको क्वेरेटारोबाट पनि खेलेका थिए ।
४६ वर्षको उमेरमा उनको मैदानमा पुनरागमनलाई विश्व फुटबलमा चासोका साथ हेरिएको छ ।





















