काठमाडौं । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको चेकजाँच तथा निगरानीका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा ठूलो आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरिएका सवारीसाधन फेला पारेको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये ५२ वटा मोटरसाइकल र ४ वटा स्कुटर रहेका छन् ।
नियन्त्रणमा लिइएका सबै सवारीसाधनमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् । प्रहरीले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न तथा सर्वसाधारणको आवागमन सहज बनाउन निगरानी र चेकजाँचलाई तीव्रता दिएको जनाएको छ ।





















