बुटवल । चाडपर्वका बेला प्रतिबन्धित पटका पड्काएर आतङ्क फैलाउने सात जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । पटका पड्काउने क्रममा एक जना घाइते भएपछि प्रहरीले संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको हो ।
प्रहरीका अनुसार गत कात्तिक २३ गते साँझ करिब ६ः५० बजे रुपन्देहीको कञ्चन गाउँपालिका–१ स्थित हात्तीबजार चोकमा भैलो खेल्ने क्रममा पटका पड्काउँदा एक जना व्यक्ति घाइते भएका थिए । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित लालिगुराँस युवा क्लबले भैलो खेलिरहेको अवस्थामा सोही ठाउँका कृष्ण परियार र आर्यन परियारले पटका पड्काएको प्रहरीले जनाएको छ । पटका पड्काउँदा घाइते भएका व्यक्तिको उपचार भइरहेको छ । उक्त घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी रुपन्देहीका विभिन्न स्थानमा पटका पड्काउने तथा आतिशबाजी गर्ने थप पाँच जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का कृष्ण परियार र आर्यन परियार, रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईका किसन मिश्र, रोहिणी–४ का पञ्चम हरिजन, रोहिणी–१ का अंगत कुमार कहार, सिद्धार्थनगर नगरपालिका–४ का हेमसल बरई र बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका सन्देश परियार रहेका छन् । प्रहरीले सातै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।





















