बुटवल । तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट भन्सार छली नेपाल भित्र्याइएका ठूलो परिमाणका फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । झापा र धनुषामा गरी करिब २६ लाख ८७ हजार ४०० रुपैयाँ मूल्य बराबरका सयपत्री, रजनीगन्धा र कमलका फूल बरामद गरी नष्ट गरिएको हो ।
सशस्त्र प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका–८ देवीबस्तीबाट मात्रै २५ लाख ६३ हजार ४०० रुपैयाँ मूल्य बराबरका फूल बरामद गरिएको छ । आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमाण्डमा खटिएको नौ सदस्यीय मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा उक्त फूल बरामद गरेको हो । बरामद फूलमध्ये २२ लाख ६८ हजार ४०० रुपैयाँ मूल्य बराबरका ११ हजार ३४२ थान भारतीय सयपत्री फूलका माला र २ लाख ९५ हजार रुपैयाँ मूल्य बराबरका १२ झोला भारतीय कमलका फूल रहेका छन् ।
बरामद फूललाई प्रतिनिधिहरूको उपस्थितिमा सशस्त्र प्रहरी बल नम्बर २ गण झापाको कार्यालय परिसरमा खाल्डो खनी पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । यसअघि धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुराबाट पनि करिब १ लाख २४ हजार रुपैयाँ मूल्य बराबरका फूल बरामद गरी नष्ट गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल, बीओपी देवडिहाबाट सशस्त्र प्रहरी नायब निरीक्षक खम्मराज भण्डारीको कमाण्डमा खटिएको पाँच सदस्यीय गस्ती टोलीलाई देखेपछि भारतबाट दुईवटा मोटरसाइकलमा फूल ल्याउँदै गरेका व्यक्तिहरू फूल छाडेर मोटरसाइकलसहित फरार भएका थिए ।
धनुषामा बरामद फूलमध्ये ९१ हजार रुपैयाँ मूल्य बराबरको १३० केजी सयपत्री र ३३ हजार रुपैयाँ मूल्य बराबरको ३० केजी रजनीगन्धा रहेका थिए। कुल १६० केजी फूललाई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा पत्रकारहरूको रोहवरमा सशस्त्र प्रहरीको बीओपी परिसरभित्र खाल्डो खनी नष्ट गरिएको थियो । तिहार तथा छठ पर्वका बेला फूलको माग उच्च हुने भएकाले भारतबाट भन्सार छली गरी फूल भित्र्याउने गतिविधि बढ्न सक्ने भन्दै सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ ।





















