बुटवल । रिजन ५ अन्तर्गतका विभिन्न रोटरी क्लबहरूबीच आपसी एकता, सहकार्य र साझा कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको छ । रोटरी क्लब अफ बुटवलको सचिवालयमा आयोजित क्लबको १६३४ औँ नियमित साप्ताहिक बैठक तथा चाडपर्वको लक्षित शुभकामना कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूबीच सामाजिक सेवाका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष यदुनाथ पाण्डेले दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै रोटरीको मूल भावना ‘स्वार्थभन्दा माथि सेवा’ लाई आत्मसात् गरी सामाजिक सेवामा एकताबद्ध भएर अघि बढ्नुपर्ने आग्रह गरे ।
बैठकमा रिजन ५ अन्तर्गतका क्लबहरूबीच समन्वय गरी साझा कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । विशेषगरी रोटरी क्लब अफ बुटवलले अगुवाइ गरिरहेको युवालक्षित कार्यक्रम राइलालाई प्रभावकारी र उपलब्धिमूलक बनाउन विभिन्न क्लबका प्रतिनिधिहरूले सक्रिय सहभागिता र सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रलका बाबुराम बोहरा, बुटवल डाउनटाउनका धर्म ज्ञवाली, बुटवल रुपन्देहीका विक्रम रिजाल, चौतारीका बासु भुषाल तथा लुम्बिनी सिद्धार्थनगरका भोजेन्द्र खत्रीलगायतले आ–आफ्ना धारणा र सुझाव राखेका थिए ।
त्यसैगरी रोटरी क्लब अफ बुटवलका पूर्वअध्यक्षहरू निर्मल लाकौल, अजयमान श्रेष्ठ, डा. नारायणप्रसाद पन्त, कृष्णप्रसाद अर्याल, सहसचिव डा. राजेन्द्र जीसी, शिव ज्ञवाली, ध्रुव पाण्डे र दया भण्डारीले अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए ।
बैठकमा अध्यक्ष यदुनाथ पाण्डे ज्येष्ठ नागरिक मिलन केन्द्रको अध्यक्षमा पुनः निर्वाचित, पूर्वअध्यक्ष डा. नारायणप्रसाद पन्त लुम्बिनी नाट्य प्रतिष्ठानको अध्यक्षमा तथा राजेन्द्र कुँवर सदस्य एवं प्रवक्तामा मनोनयन भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
रिजन ५ का रोटरी क्लबहरूबीच सम्बन्ध विस्तार, युवाको नेतृत्व विकास र सामाजिक सेवाका साझा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आयोजित बैठकले आगामी दिनमा सामूहिक सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको क्लबका सचिव दिवाकर घिमिरेले जानकारी दिए ।





















