बुटवल, २३ कार्तिक ।
ड्याडिज ग्रुपको कालिकानगरमा ड्याडिज केक प्रिमियम बेकरी सञ्चालन आएको छ । ‘स्वदेशमै ल्याउँछौ कायापलट’ भन्ने नारा सहित शुरु भएको ड्याडिज ग्रुपबाट नेपाली बेकरी तथा खाद्य उद्योगमा गुणस्तर, आधुनिक प्रविधि र नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्यसहित शुरुवात गरिएको संचालक युवा उद्यमी कमलजंग कुवँरले दाबी गरे । स्थानीय बेकर तथा प्रतिभालाई प्रोत्साहनसहित आफ्नै अनुसन्धान तथा विकास टोलीमार्फत उत्पादनको स्वाद र बनावटमा निरन्तर सुधार गर्ने उनले बताए ।
करिब ६ करोड रुपैयाँको कुल लगानीमा स्थापना गरिएको बेकरीले फ्रेन्च बेकरी परम्परा, आर्टिजन बेकिङ र आधुनिक प्रविधिको संयोजनमार्फत विभिन्न बेकरी उत्पादन बजारमा ल्याएको छ । ड्याडिज केकले उत्पादनको गुणस्तर कायम राख्न आधुनिक इटालियन बेकरी मेसिनरी तथा उपकरण प्रयोगमा ल्याएको छ । अनुभवी नवाङ फिन्जो शेर्पा कन्सल्टेन्स पार्टनरका रुपमा रहेर काम गरेका छन । फ्रेन्च बेकरीमा प्रयोग हुने उत्कृष्ट ग्रेडको पीठो तथा रे–फ्लवर, ककाओ चकलेट जस्ता कच्चा पदार्थ प्रयोग गरिने ड्याडिज किचेनका सञ्चालक कमलजंग कुँवरले जानकारी दिए । उनका अनुसार बेकरीका उत्पादनमा अनावश्यक कृत्रिम सामग्रीको प्रयोग नगरी दूधबाट बनेको वास्तविक बटर, प्राकृतिक फलफूल, नट्स, प्राकृतिक रङ तथा ग्लेजिङलाई प्राथमिकता दिइएको छ ।
बेकरी र क्याफे संस्कृतिलाई एकीकृत गर्दै ड्याडिज केकले बुलेन्जरी, भिएनोइजेरी, विभिन्न प्रकारका पेस्ट्री, चिजकेक, सिग्नेचर केकसँगै कफी, मकटेललगायत विशेष पेय पदार्थ उपलब्ध गराउने जनाएको छ । यस परियोजनामार्फत हाल ६० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । कम्पनीले आगामी एक वर्षभित्र रुपन्देही जिल्लामा १८ वटा मिनी आउटलेट सञ्चालनमा ल्याउने योजना बनाएको छ । त्यसपछि पोखरा र काठमाडौंमा समेत आउटलेट विस्तार गर्ने तथा निकट भविष्यमै २४ सै घण्टा सेवा उपलब्ध गराउने रणनीति रहेको कम्पनीले जनाएको छ ।
ड्याडिज ग्रुपले रेस्टुरेन्ट, अटोमोबाइल, रियल इस्टेटलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । ग्रुपका अनुसार हालसम्म यसका विभिन्न व्यवसायमार्फत १ हजार २ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।
भिडियो रिर्पोट





















