Spread the love

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक प्रदर्शनका क्रममा भीड नियन्त्रण गर्ने नाममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । शान्ति सुव्यवस्था कायम गर्ने क्रममा बल प्रयोग गर्नुपर्ने अवस्था आए आवश्यकता र जवाफदेहिताको सिद्धान्त पालना गर्नुपर्नेमा जोड दिँदै उनले बल प्रयोगभन्दा संवाद, समन्वय र संस्थागत सुधारलाई प्राथमिकता दिनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयको आयोजनामा कात्तिक १७ देखि १९ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित तीनदिने परामर्श कार्यशालाको समापन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन् । शान्तिपूर्ण प्रदर्शनको व्यवस्थापन गर्दा मानव अधिकारको सम्मान र संरक्षण गर्दै सुरक्षा निकायको व्यावसायिक भूमिका प्रभावकारी बनाउन कार्यशाला आयोजना गरिएको थियो । कार्यशालामा गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका अधिकृतसँगै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय जेनेभा र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालयका सहजकर्ताहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा शान्तिपूर्ण प्रदर्शनका क्रममा बल प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, संवाद, समन्वय, सुरक्षा परिचालन योजना तथा नेतृत्वको जवाफदेहितालगायतका विषयमा छलफल गरिएको थियो । कार्यशालाले सुरक्षा अधिकारीहरूलाई आफ्नो अधिकार, जिम्मेवारी र कार्यविधिको पुनरावलोकन तथा अद्यावधिक गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

">
Bajaj Grand Exchange Mela