Spread the love

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्ट नजिकै सौडानी खोलामा गएराति जिप दुर्घटना भएको हो ।

डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ । राति करिब ८ बजे भएको दुर्घटनामा चालकसहित सात जना सवार थिए ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको थियो । उपचारकै क्रममा राति ८ः३५ बजे पञ्चेश्वर गाउँपालिका–२ निवासी ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

">
Bajaj Grand Exchange Mela