दाङ,१८ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षालाई श्रम बजारको माग र निजी क्षेत्रको आवश्यकतासँग जोडेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बुधवार राप्ती उपत्यका(देउखुरी)मा आयोजना गरेको प्राविधिक तथा व्यावसायिक सीप र निजी क्षेत्रको सीप आवश्यकतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले बजारको मागअनुसार पाठ्यक्रम परिमार्जन र सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
प्राविधिक शिक्षामा लगानी बढे पनि शिक्षालयमा विद्यार्थीको आकर्षण घट्दै जानु र कतिपय शिक्षालय बन्द हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताएका छन् । परम्परागत शिक्षण शैली र बजारको आवश्यकतासँग मेल नखाने पाठ्यक्रमका कारण प्राविधिक शिक्षाप्रति आकर्षण घटेको उनको भनाई छ । मुख्यमन्त्री आचार्यले रोजगारीको खोजीमा रहेका युवालाई उद्यमशीलतासँग जोड्दै दक्ष जनशक्तिमा रूपान्तरण गर्न प्रदेश सरकारले थप कार्यक्रम सञ्चालन गर्ने बताए । बजारको आवश्यकता पहिचान गरेर सोहीअनुसार तालिम र पाठ्यक्रम निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।




















