काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाले ५–५ ओभरमा छोट्टिएको रोमाञ्चक खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ३५ रनको शानदार जित हात पारेको छ । जितका लागि पाएको १०६ रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ७० रनमै रोकिएको छ ।
विशाल लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुआत निकै खराब रह्यो । इनिङ्सको पहिलो बलमै ओपनर शेरफेन रदरफोर्डलाई आन्द्रे रसेलले बोल्ड गर्दै शून्यमै पेभेलियन फर्काए । कप्तान दीपेन्द्रसिंह ऐरी पनि क्रिजमा जम्न सकेनन् । ५ बल खेपेका उनी मात्र १ रन बनाएर एन्जेलो म्याथ्युजको बलमा रूपेश सिंहको हातबाट क्याच आउट भएपछि सुदूरपश्चिम १.३ ओभरमै ७–२ को कमजोर स्थितिमा पुगेको थियो ।
त्यसपछि सैफ जेबले १० बलमा २ छक्कासहित १७ रन जोड्दै इनिङ्स उकास्ने प्रयास गरे पनि उनी रूपेश सिंहको शिकार बने । अन्तिमतिर स्कट कुगेलेइनले ६ बलमा ४ छक्का र १ चौकाको मद्दतले अविजित २८ रन तथा आरिफ शेखले ८ बलमा २ छक्कासहित अविजित १७ रनको आक्रामक इनिङ्स खेले पनि टोलीलाई जितसम्म डो¥याउन सकेनन् ।
विराटनगरका लागि ब्याटिङसँगै बलिङमा पनि आन्द्रे रसेल नायक बनेका छन् । विष्फोटक ब्याटिङ हुने ५ ओभरको खेलमा उनले असाधारण बलिङ गर्दै २ ओभरमा मात्र ८ रन खर्चेर १ विकेट लिएका छन् । यस्तै एन्जेलो म्याथ्युजले १ ओभरमा १५ रन दिएर १ विकेट र रूपेश सिंहले १ ओभरमा १८ रन खर्चेर १ विकेट हात पारेका छन् । यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रनको विशाल योगफल तयार पारेको थियो ।
विराटनगरका लागि शेहान जयसूर्याले ११ बलमा ३९ रन, आन्द्रे रसेलले अविजित २९ रन र लोकेश बमले २५ रनको विष्फोटक योगदान दिएका थिए । सुदूरपश्चिमका अविनाश बोहराले २ विकेट लिएका थिए । आईतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।




















