Spread the love

काठमाडौं, १२ कात्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ । अर्को खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ३ विकेटले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । जनकपुरको जितमा मोइन अलीले अविजित अर्धशतक बनाए । उनले ५१ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए । सैफ हसनले ३९ बलमा अविजित ४० रनको योगदान दिए । यी दुईले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई जित दिलाए ।

जनकपुरका राहुल यादवले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा ३१ रन खर्चिए । सैफ हसनले २ तथा मोइन अली, हर्मीत सिंह र ललित राजवंशीले १–१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा समेटिएको थियो । काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे ।

सोमपालको उत्कृष्ट प्रदर्शनमा कर्णालीको जित

बिहीबारकै अर्को खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ३ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । कर्णालीका कप्तान सोमपाल कामीले अविजित ६२ रन बनाउँदै टोलीको जितमा निर्णायक भूमिका खेले । उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । गुल्सन झाले २१ बलमा अविजित २८ रन बनाए । सोमपाल र गुल्सनले सातौँ विकेटका लागि ६४ रनको अविजित साझेदारी गरे । अन्तिम ओभरमा ८ रन आवश्यक रहेको अवस्थामा सोमपालले दबाबबीच उत्कृष्ट ब्याटिङ गर्दै एक बल बाँकी छँदै टोलीलाई जित दिलाए ।

बलिङमा विराटनगरका एन्जेलो म्याथ्युजले ३ विकेट लिए । चरिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लोकेश बमले ५२ बलमा ८७ रनको आक्रामक इनिङ्स खेले । उनले ३ चौका र ९ छक्का प्रहार गरे ।

लोकेशले एन्जेलो म्याथ्युजसँग चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । म्याथ्युजले २२ बलमा ३१ रन बनाए भने आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे ।

कर्णालीका कप्तान सोमपालले बलिङमा पनि प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । उनले लोकेश बम, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकालाई आउट गरे । एनपीएलमा शुक्रबार कुनै खेल राखिएको छैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्