काठमाडौँ, कार्तिक १३ गते ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन बेटिङ र अवैध क्रिप्टोकरेन्सी मार्फत २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला, सबैला नगरपालिका वडा नं. १२ स्थायी ठेगाना भएका २८ वर्षीय सुनिल कुमार यादव रहेका छन्। कार्यालयका अनुसार यादवले नेपाल राष्ट्र बैंकको नीति र प्रचलित कानुन विपरीत विभिन्न वित्तीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसन मार्फत सट्टेबाजी खेलाउने र अवैध रूपमा डिजिटल मुद्राको कारोबार गर्ने गरेको विशेष सूचना प्राप्त भएको थियो।
सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सूक्ष्म निगरानी र प्राविधिक विश्लेषण गरेर २ करोड ६९ लाख ९९ हजार ३ सय ८८ अमेरिकी डलर को कारोबार गरेको फेला पारेको हो। १ अमेरिकी डलरको विनिमय दर १५१ रुपैयाँ ५३ पैसा कायम गर्दा यो रकम नेपाली रुपैयाँमा २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रुपैयाँ हुन आउँछ।
प्रहरीले यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा पक्राउ गरेको हो। निजमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) र दफा २६२ (क) १ (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) बमोजिमको कसूरमा थप अनुसन्धान अघि बढाइएको छ।म्याद थप र कानुनी कारबाहीका लागि उनलाई काठमाडौँ जिल्ला अदालत, बबरमहल पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।




















