Spread the love

सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी राजमार्गमा एम्बुलेन्समार्फत गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

२०८३ कात्तिक २ गते राति १२ः३० बजे इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको एम्बुलेन्समा लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय दुहबी र प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो ।

सोही क्रममा दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा नम्बर नखुलेको एम्बुलेन्स बेवारिसे अवस्थामा फेला परेको थियो । प्रहरीले एम्बुलेन्स जाँच गर्दा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा गाँजा ओसारपसारको उद्देश्यबारे अनुसन्धान भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्