Spread the love

बुटवल, ३० असोज ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बडादशैँ, तिहार, छठ पर्व २०८३ तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका नवनिर्वाचित कार्यसमिति र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको उद्योग सदस्यमा निर्वाचित संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले रुपन्देहीको समग्र पर्यटन विकास र प्रचारप्रसारका लागि सरोकारवाला संघसंस्थाहरू एकजुट भएर साझा योजना बनाउनुपर्नेमा जोड दिएका छन् । पर्यटन क्षेत्रको विकाससँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि आपसी सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका नवनिर्वाचित अध्यक्ष माधवप्रसाद नेपाल, होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठ, संघका सल्लाहकारहरू समुद्र जिसी, रामप्रसाद गौतम र देविकुमार श्रेष्ठ, समितिका उपाध्यक्ष युवराज घिमिरे, महासचिव महेन्द्र लिगल, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा तथा महासचिव केशवराज कँडेलले पर्यटन विकासका लागि साझा योजना र प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

वक्ताहरूले होटल व्यवसायलाई नयाँ ढंगबाट अघि बढाउँदै स्वास्थ्य तथा आरोग्यसँग सम्बन्धित सेवाहरूलाई समेत जोड दिनुपर्ने सुझाव दिएका थिए । पर्यटनका नयाँ सम्भावनाको खोजी गर्दै सेवा विस्तार गर्न सके यस क्षेत्रको आर्थिक गतिविधि र रोजगारीमा सकारात्मक प्रभाव पर्ने उनीहरूको धारणा थियो ।

कार्यक्रममा संघका अध्यक्ष माधवकुमार खनालले पर्यटन प्रवर्द्धन अभियानमा सरोकार राख्ने सबै पक्षबीच सहकार्य, सहमति र स्पष्ट योजनासहित अघि बढ्नुपर्ने बताए । उनले रुपन्देहीका ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारमा विशेष जोड दिनुपर्ने उल्लेख गरे ।

खनालले अन्तर्राष्ट्रिय पहिचान बोकेको जितगढी किल्ला र उजिरसिंह दरबारजस्ता ऐतिहासिक सम्पदालाई पर्यटनको प्रमुख आकर्षणका रूपमा विकास गर्नुपर्ने बताए । यस्ता स्थलको उचित प्रचारप्रसारसँगै रात्रीकालीन बजारको विकास र पर्यटनमैत्री योजना निर्माणमा समेत सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

रुपन्देहीमा रहेका ऐतिहासिक सम्पदा, धार्मिक स्थल तथा अन्य पर्यटकीय गन्तव्यलाई व्यवस्थित रूपमा प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने र त्यसबाट होटल तथा रेष्टुरेन्ट व्यवसायको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्