Spread the love

दाङ । नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले बिहीबार साँझ लमही नगरपालिका–५, रातोडाँडास्थित जस्मिन होटल एण्ड लजमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार होटलको तेस्रो तलामा रहेका २०३ र २०४ नम्बरका कोठा भाडामा लिएर अनलाइन सट्टेबाजीका प्लेटफर्म सञ्चालन भइरहेको सूचनाका आधारमा साँझ करिब ७ः३० बजे खानतलासी गरिएको थियो।

सो क्रममा एक नेपाली र चार भारतीय नागरिक गरी पाँच जनालाई ‘केयुएसएच ७७७’ लगायतका अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी कारोबार गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले सट्टेबाजीमा प्रयोग गरिएका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी १८ थान विद्युतीय उपकरणसमेत बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा बुझाइएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ।

">
Bajaj Grand Exchange Mela