काठमाडौं,२ मंसिर । जिल्ला भूमि समस्या समाधान समिति बाँकेले १० भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ । लालपुर्जा पाउनेमा २०४४/४५ सालदेखि राप्ती सोनारी गाँउपालिका वडा नं ४ मा बसोबास गर्दै आएका का ३ भूमिहिन दलित र ७ भूमिहिन सुकुम्बासी परिवार रहेका छन् ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो। सर्लाहीको विष्णु गाँउपालिका वडा नं ५ र ६ (साविक सिमरा गा.वि.स. वडा नं १,२,३,४,५,६ र ७) का २७५ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २७५ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्। नापी कार्यालय सर्लाहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।
उक्त क्षेत्रको नापजाँच कार्य २०७१ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले उक्त परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।





















