Spread the love

 

काठमाडौं,२ मंसिर ।

राजस्व चुहावट मुद्दामा ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार रौतहटको गढीमाई नगरपालिका–९ का ३३ वर्षीय श्रीवास्तवलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा वीरगञ्ज महानगरपालिका–१६, नगवाबाट पक्राउ गरिएको हो ।

श्रीवास्तव संगीला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनलका प्रोप्राइटर रहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त फर्महरूबाट झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गरी कारोबार गरेको अभियोगमा उनीविरुद्ध राजस्व चुहावटसम्बन्धी मुद्दा दायर भएको थियो । उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते गरेको फैसलाअनुसार श्रीवास्तवलाई ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकिएको थियो ।

फैसलापछि फरार रहेका उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

 

">
Bajaj Grand Exchange Mela