काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज आइतबार पहाडी तथा हिमाली भू–भागमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशको हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो हिमाली भू–भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ। गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि यस्तै मौसमी गतिविधिको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित देशका अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
रातिको समयमा पनि हिमाली भू–भाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।





















