काठमाडौं । तराई–मधेससहित देशका विभिन्न क्षेत्रमा श्रद्धा, आस्था र निष्ठाका साथ मनाइने छठ पर्व आजदेखि सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधिबाट छठ पर्वको सुरुवात गर्दैछन्। सूर्यदेव र षष्ठीदेवी अर्थात् छठी माताको पूजा आराधना गरिने छठ पर्वलाई प्रकृति, स्वच्छता, पवित्रता र अनुशासनसँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिइन्छ।
विशेषगरी मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न सहर र पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । छठ पर्वको पहिलो दिनलाई ‘नहाय–खाय’ भनिन्छ। यस दिन व्रतालुहरूले बिहानै स्नान गरी घर तथा पूजास्थलको सरसफाइ गर्छन्। शुद्धता र पवित्रतालाई विशेष महत्व दिइने यस दिन सात्विक भोजन ग्रहण गरेर व्रतको सुरुवात गरिन्छ।
पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा ‘खरना’ विधि गरिन्छ। यस दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ सूर्यास्तपछि पूजा गरी प्रसाद ग्रहण गर्छन्। खरनामा विशेषगरी खीर, रोटी तथा अन्य शुद्ध परिकार तयार गरी भगवान् सूर्यलाई अर्पण गर्ने चलन छ। खरना सम्पन्न भएपछि व्रतालुहरू निर्जला व्रतमा बस्ने परम्परा रहेको छ।
छठ पर्वको तेस्रो दिन षष्ठी तिथिमा मुख्य पूजा गरिन्छ। यस दिन व्रतालुहरूले बाँसका डाला, नाङ्लो तथा अन्य भाँडामा ठकुवा, भुसुवा, फलफूल, उखु, नरिवललगायतका पूजा सामग्री सजाएर नदी, तलाउ, पोखरी तथा जलाशयमा पुग्छन्। अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको दीर्घायुको कामना गरिन्छ।
पर्वको चौथो तथा अन्तिम दिन सप्तमी तिथिमा बिहानै व्रतालुहरू पुनः जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन्। यस विधिलाई ‘भोरका अघ्र्य’ भनिन्छ। उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको समापन हुन्छ र व्रतालुहरूले प्रसाद ग्रहण गरी व्रत तोड्ने परम्परा छ।
छठ पर्व नजिकिएसँगै मिथिला क्षेत्रका गाउँबस्ती तथा बजारमा विशेष चहलपहल बढेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको भीड लाग्न थालेको छ। बाँसका डाला, नाङ्लो, सुपली, माटोका भाँडा, फलफूल, उखु, नरिवल तथा अन्य पूजासामग्रीको किनमेल बढेको छ । त्यस्तै, पर्वको तयारीस्वरूप घरघरमा सरसफाइ गर्ने, आँगन तथा पूजास्थल सजाउने र जलाशय तथा घाटहरूको सफाइ गर्ने काम पनि भइरहेको छ। स्थानीय युवा क्लब, सामाजिक संघसंस्था तथा विभिन्न समुदायले छठ घाट व्यवस्थापन र सजावटमा सक्रियता देखाउन थालेका छन्।
छठ पर्व धार्मिक आस्थासँगै सामाजिक सद्भाव, आपसी एकता र सहकार्यको प्रतीकका रूपमा पनि स्थापित हुँदै गएको छ। यस पर्वमा जातजाति, वर्ग र समुदायबीचको विभेदभन्दा माथि उठेर सामूहिक रूपमा घाट निर्माण, सरसफाइ, सजावट तथा पूजाको व्यवस्थापन गर्ने परम्परा छ ।





















