Spread the love

बुटवल,२ असोज ।

विश्व फार्मासिस्ट दिवस २०२६ को अवसरमा नेपाल फार्मेसी संघ, रुपन्देहीको आयोजनामा मणिमुकुन्द कलेजमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी लागुऔषध तथा समसामयिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषध, अपरिपक्व सम्बन्ध , डिजिटल एडिक्सन तथा पोर्नोग्राफी लगायतका विषयमा सचेतना प्रदान गरिएको थियो ।

कार्यक्रममा चौतारी हस्पिटल प्रा.लि.का सञ्चालक किरण ढकालले सहजीकरण गरेका थिए । उनले किशोरावस्थामा देखिने जिज्ञासा, साथीको दबाब, गलत संगत तथा डिजिटल माध्यमको अनियन्त्रित प्रयोगले निम्त्याउन सक्ने जोखिमका विषयमा विद्यार्थीलाई सरल, व्यवहारिक र उदाहरणसहित जानकारी गराएका थिए ।

कार्यक्रममा लागुऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक असरका साथै लागुऔषधबाट जोगिन अपनाउनुपर्ने उपायबारे चर्चा गरिएको थियो । कार्यक्रममा डिजिटल माध्यमको अत्यधिक प्रयोगले अध्ययन, निद्रा, पारिवारिक सम्बन्ध तथा मानसिक स्वास्थ्यमा पार्न सक्ने प्रभावका विषयमा पनि विद्यार्थीलाई सचेत गराइएको थियो ।

नेपाल फार्मेसी संघ, रुपन्देहीका अध्यक्ष चोखलाल सापकोटाको अध्यक्षता, नेपाल फार्मेसी संघका केन्द्रीय सचिव ध्रुवकुमार शर्मा प्रमुख अतिथियता मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्री तथा नेपाल फार्मेसी संघका केन्द्रीय निवर्तमान अध्यक्ष किरण ढकाल विशिष्ट अतिथियतामा सम्पन्न कार्यक्रममा नेपाल फार्मेसी संघ, प्रदेश कमिटीका अध्यक्ष खेमराज तिवारी र महासचिव उदयबहादुर खत्री, नेपाल फार्मेसी संघ रुपन्देहीका संस्थापक अध्यक्ष गणेश सेढाईं , फार्मासिस्ट मुकेश श्रेष्ठ, दिलीप जैसवाल, कमल भट्टराई, नेपाल फार्मेसी संघ रुपन्देहीका महासचिव महेश पाण्डको समेत उपस्थिति रहेको थियो ।

 

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्