काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर विवाद चर्किरहेका बेला आगामी साउन २४ गते आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बैठक साउन २४ गते दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ । कांग्रेसभित्र आगामी महाधिवेशनको मिति, तयारी र विधानको व्याख्यालाई लिएर संस्थापन र इतर समूहबीच मतभेद बढिरहेका बेला केन्द्रीय समिति बैठक बोलाइएको हो । इतर समूहले आह्वान गरेको राष्ट्रिय भेला तथा आगामी महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ। इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। भेलाको संयोजकमा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई तोकिएको छ ।
यसैबीच संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने मिति घोषणा गरेको छ। महाधिवेशनको सुनिश्चितता, कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्ने समयसीमा बैठकका प्रमुख एजेन्डा बन्ने नेताहरूले बताएका छन् ।
त्यसैगरी विधानमा देखिएको बाधा–अड्काउ फुकाउने वा विधानको अक्षरशः पालना गर्ने भन्ने विवाद समाधान, पार्टीको आन्तरिक संरचनामा नेताहरूको व्यवस्थापन तथा संगठनात्मक विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्र संस्थापन र इतर समूहबीच बढेको मतभेदले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशाबारे थप बहस सिर्जना गरेको छ । साउन २४ गतेको केन्द्रीय समिति बैठकलाई यही विवाद समाधान गर्ने दिशामा महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।






















