बुटवल,१६ साउन ।
राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले देशमा शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग संयमता, संवाद र सहिष्णुताको मार्ग अपनाउन आग्रह गरेको छ ।
जारी अपिलमा एनबीआईले पूर्वी नेपाल तथा मधेश क्षेत्रमा देखिएको सामाजिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण वातावरण कायम गर्नु प्रमुख आवश्यकता भएको जनाएको छ । एनबीआईले शान्ति नै समृद्धिको आधार भएको उल्लेख गर्दै सबै नागरिक, समुदाय, राजनीतिक नेतृत्व, व्यवसायी, युवा, नागरिक समाज र सञ्चार माध्यमलाई धार्मिक सद्भाव, सामाजिक एकता तथा स्थायी शान्ति कायम गर्न सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
अपिलमा कुनै पनि विवादको समाधान संवाद र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिइएको छ । एनबीआईका अध्यक्ष कुशकुमार जोशी र लुम्बिनी प्रदेश संयोजक उज्ज्वल प्रसाद कसजूद्वारा जारी अपिलमा शान्तिपूर्ण सामाजिक सद्भाव, सुरक्षित व्यावसायिक वातावरण र दिगो आर्थिक विकासका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको उल्लेख गर्दै सबै पक्षलाई संयम र जिम्मेवारीका साथ अघि बढ्न आह्वान गरिएको छ ।





















