Spread the love

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि बादल लागेको छ भने मधेश प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। सम्भावित भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, सडक अवरोध तथा नदी–खोलामा जलसतह बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्