Spread the love

म भित्र पनि पीडा छ,
सायद
सबैभित्र पीडा छ ।
प्रश्नहरू छन—
जिजीविषाका,
न्यायका,
समानताका,
गाँस, बास र कपासका ।

आफ्ना नानीहरूको
भोको पेट,
अधुरा सपना,
विद्यालयको झोला,
भोलिको भविष्य—
यी सबै चिन्ताहरू
दिनरात मनभित्र
निरन्तर कराइरहँदा,
मानिस
न होसमा छ
न जोसमा ।

यो केवल
आत्मदाह गर्ने प्रेम आचार्य र गणेश नेपालीका आँसु होइनन्,
अनि बर्ष देखि अडकिएर बसेका
अनुत्तरित प्रश्न मात्र पनि होइनन् ।

यी त
सम्पूर्ण समाजको अन्तरात्मामा
ठोक्किएका प्रश्नहरू हुन—
जसको प्रतिध्वनि
अझै पनि
हाम्रो मौनताभित्र गुन्जिरहेको छ ।

आखिर किन
यस्तो मोडमा पुग्छ मानिस?
जहाँ
आशाले साथ छोड्छ,
परिश्रमले मूल्य पाउँदैन,
आत्मसम्मान बारम्बार घाइते हुन्छ,

जीवनभन्दा
निराशा ठूलो देखिन थाल्छ?

ए मान्छे!
पीडाको अन्त्य
आफ्नै उज्यालो निभाएर हुँदैन ।
आफ्नै अस्तित्व जलाएर
यो अँध्यारो उज्यालो बन्दैन ।

किनकि
एउटा जीवनसँग
एउटा परिवार गाँसिएको हुन्छ,
थुप्रै सपना गाँसिएका हुन्छन्,
अनगिन्ती मुस्कानहरू
आशाको धागोमा बाँधिएका हुन्छन् ।

आज
हामीले केवल शोक मनाउनु छैन,
हामीले
आफ्नो विवेक पनि ब्युँझाउनु छ ।

राज्यले
आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ ।
नेपाली दाजुभाइ दिदीबहिनीको
सबैको अनुहार चिन्नुपर्छ ।
व्यवस्थाले
भोकको भाषा बुझ्नुपर्छ ।
र अवस्था परिवर्तनमा
अब पनी ढिलो होइन,
समयमै अगाडि बढ्नुपर्छ ।

कुनै पनि नागरिक
यति एक्लो नहोस्
कि आफ्ना पीडाभन्दा
मृत्यु सजिलो लागोस् ।

कुनै पनि परिवार
यति असहाय नहोस्
जसको सपनाको घर
निराशाले खरानी बनाओस् ।

आऊ, सबै मिलिएर
अब दोष होइन,
जिम्मेवारी खोजौँ ।

घृणा होइन,
माया बाँडौँ ।

उपेक्षा होइन,
सहयोगका हात फैलाऔँ ।

सुन्ने कान बनौँ,
सम्झिने मन बनौँ,
अडिने काँध बनौँ ।

किनकि
हरेक जीवन अमूल्य छ ।
हरेक श्वासमा
भोलिको सम्भावना बाँचेको हुन्छ ।

हो,
आज मन भारी छ।
आँखा रसाएका छन्।
हाम्रो विवेक
कतै गहिरो निद्रामा परेको जस्तो लाग्छ ।

तर
यही पीडाबाट
एउटा प्रण गरौँ—

अब कुनै अर्को प्रेम,
कुनै अर्को गणेश
निराशाको अँध्यारोसँग
एक्लै लड्न नपरोस्
एक्लै ढल्न नपरोस् ।

बरु
उसले भेटोस—
सुनिदिने समाज,
साथ दिने हात,
सहयोगी राज्य,

बाँच्न प्रेरित गर्ने
मान्छे र मानवता ।

✍️अर्जुनदृष्टि

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्