बुटवल, २६ असार ।
बुटवल उपमहानगरपालिका वडा नं. ६ की लक्ष्मी खनाल भट्टराई नियमित योग अभ्यास गर्छिन । सबेरै शिव पन्चायन दुर्गा मन्दिरमा जम्मा भएर उनि योग अभ्यासमा सहभागी हुन्छिन । योगमा सहभागी भएसंगै उनलाई धेरै फाईदा मिलेको दाबी गर्दै हप्तैपिच्छे हुने साउण्ड हिलिङ थप उपयोगी भएको बताईन ।
यता छ महिनादेखि नियमित योग साधना गर्दै आएका श्याम पाण्डेले योगबाट आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यमा उल्लेखनीय परिवर्तन ल्याएको बताए । योग कक्षामा सिकेका अभ्यासहरू घरमै दैनिक १५–२० मिनेट गर्न सकिने भएकाले यसको दीर्घकालीन लाभ मिल्ने उनको अनुभव छ । नियमित साउण्ड हिलिङ र विशेष ध्यान सत्रले तनाव व्यवस्थापनमा थप सहयोग पुगेको उनले बताए ।
बुटवल उपमहानगरपालिका–६ स्थित शिव पञ्चायन दुर्गा मन्दिर (शिवालय) परिसरमा विकाशानन्द फाउन्डेसन विश्व परिवार–बुटवल शाखाद्वारा ’मनोक्रान्ति स्मार्ट योग’ कार्यक्रममा संचालन हुदै आएको छ । जहा नियमित योग, प्राणायाम, ध्यान र मानसिक सन्तुलनका अभ्यासमार्फत सहभागीहरूले शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत उल्लेखनीय सुधार अनुभव गरिरहेको बताए । तुल्सी न्यौपानेले नियमित योग अभ्यासबाट आफूहरूमा उत्साह, सकारात्मक सोच र मानसिक शान्ति बढेको बताईन । विगत १५ वर्षदेखि स्वास्थ्य सचेतनाका क्षेत्रमा काम गर्दै आएका उमाकान्त पोखरेल पनि नियमित योग गर्छन । योगलाई स्वस्थ जीवनको प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने उनको भनाईछ ।
व्यस्त शहरी जीवनशैली, बढ्दो मानसिक तनाव र अस्वस्थ जीवनपद्धतिको बीच बुटवलमा योग र ध्यानप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । बुटवलका विभिन्न वडाहरुमा अहिले योगध्यान शिविरमा उल्लेख्य उपस्थिती रहने गरेको छ ।
यसैबीच मनोक्रान्ति साधक जेसन लिले बुटवलमा विशेष सत्र सञ्चालन गर्दै सहभागीहरूलाई साउण्ड हिलिङ गराएका छन । उनले आफ्ना साधनाका अनुभव सुनाउँदै मेनिफेस्टेसन र ध्यानको प्रभावबारे जानकारी दिएका थिए । उनले दैनिक जीवनका सामान्य कामहरू—खाना पकाउने, नुहाउने, कपडा धुने, कोठा सफा गर्ने वा तरकारी काट्ने कार्यलाई समेत कर्मयोगको रूपमा अभ्यास गर्न सकिने बताए । यस्ता काम गर्दा मनलाई शून्यताको अवस्थामा राख्न सके ध्यानको अभ्यास दैनिक जीवनमै सम्भव हुने उनको भनाइ थियो ।
“ध्यान अभ्यासका क्रममा कहिलेकाहीँ कमजोरी महसुस हुन सक्छ, नकारात्मक सोच पनि आउन सक्छ । तर मन शून्य अवस्थामा पुग्दा ती विचारप्रति दिमागले प्रतिक्रिया जनाउँदैन,“ उनले भने । आफू वर्षमा चार पटक नेपाल आउने गरेको र स्थायी जागिर छाडेर आध्यात्मिक साधनामा लागेको अनुभवसमेत उनले सुनाए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले स्मार्ट योगबाट वडावासीको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको बताए । बढ्दो सहभागिताले शहरी समुदाय योग र ध्यानप्रति थप आकर्षित हुँदै गएको संकेत दिएको भन्दै बिरामी हुनबाट बच्न समेत नियमित योगसाधना जरुरी रहने बताए ।
मनोक्रान्ति स्मार्ट योगका संयोजक लीला गौतम (दिव्य लीला )ले संस्था तीन वर्षअघि दर्ता भएर नियमित योग, ध्यान, रेकीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनले स्थानीय वडा कार्यालयको सहयोगमा सञ्चालन भइरहेको कार्यक्रमबाट समुदायमा स्वास्थ्यप्रति जागरण बढाउनुका साथै मानसिक रूपमा सबल, सकारात्मक र अनुशासित जीवनशैली विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
भिडियो रिर्पोट





















