बुटवल, ९ असोज ।
नेपाली कांग्रेस पार्टीको १५ औ महाधिवेशन प्रतिनिधिको उम्मेदबारी घोषणा स्वतस्फूर्त रुपमा भैरहेको छ । रुपन्देहीमा पनि सामाजिक संजालमा घोषणा र प्रचारप्रसार भैरहेको छ । बुटवलमा लामोसमयदेखी चिकित्सा पेशामा आवद्ध वरिष्ठ अर्थोपेडिक सर्जन डा. कृष्ण खरेलले रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी घोषणा गरेका छन् । नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्षसमेत रहेका डा. खरेलले श्रमिक/पेशागत/विषयविज्ञको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । उनले पार्टीभित्र चिकित्सक तथा पेशागत क्षेत्रका मुद्दालाई प्रभावकारी रूपमा उठाउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् ।
डा. खरेल विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा प्रवेश गरेका उनले २०४७ सालमा नेपाल भ्याली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति तथा २०५१ सालमा नेविसंघ बंगलादेश सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । त्यसैगरी उनले लोकतान्त्रिक चिकित्सक संघ लुम्बिनी प्रदेशको सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । चिकित्सा पेशासँगै सामाजिक तथा पेशागत क्षेत्रमा सक्रिय डा. खरेलले चिकित्सक समुदाय र पेशागत क्षेत्रका विषयलाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा थप प्रभावकारी रूपमा जोड्न आफ्नो उम्मेदवारी रहेको बताए ।
“पेशागत दक्षता र राजनीतिक अनुभवलाई सँगसँगै अघि बढाउँदै पार्टीमा चिकित्सक तथा पेशागत क्षेत्रको प्रतिनिधित्वलाई प्रभावकारी बनाउन उम्मेदवारी दिएको छु ।,” डा. खरेलले खस्यौली खबरसँग भने । रुपन्देही–२ मा कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि विभिन्न समूहबाट उम्मेदवारी घोषणा हुने क्रमसँगै क्षेत्रीय अधिवेशनको राजनीतिक गतिविधि पनि तीव्र बनेको छ ।
महाधिवेसनमा प्रत्यक्ष, महिला, श्रमिक/पेशागत/विषयविज्ञ, ३५ वर्षमुनिका युवा, अपाङता भएका ब्यक्ति, समावेशी क्लस्टर गरि रुपन्देहीका पाच क्षेत्रमा ३३ सिटको क्लष्टरबाट कुल १६५ जना प्रतिनिधि बन्ने प्रावधान रहेको छ ।




















