बुटवल,८ असोज ।
सम्भावित अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ ।
बुटवल उपमहानगरपालिकाले नगर प्रमुखस्तरीय निर्णयअनुसार २०८३ असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द गर्ने जनाएको छ। त्यस्तै असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका सम्पूर्ण कक्षा बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा बालबालिकाको सुरक्षालाई विशेष प्राथमिकता दिन अभिभावक तथा विद्यालय परिवारलाई आग्रह गरेको छ।
साथै, बालबालिकालाई खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । उपमहानगरपालिकाले जारी गरेको सूचनामा विद्यालयहरूलाई उक्त निर्णयअनुसार पठनपाठन बन्द गरी आवश्यक कार्यान्वयन गर्नरगराउन समेत निर्देशन दिएको छ।




















