बुटवल । रूपन्देही व्यापार संघले हालै सम्पन्न विभिन्न व्यवसायीक संघसंस्थाका अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व तथा पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । संघले बुधबार आयोजना गरेको स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ रूपन्देहीको तेस्रो अधिवेशन तथा सैनामैना व्यापार संघको छैठौँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व तथा पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायीबीचको आपसी सहकार्य, समन्वय र एकताले व्यापारिक क्षेत्रका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । विभिन्न क्षेत्रका व्यवसायी संघसंस्थाबीच सहकार्य र अनुभव आदान–प्रदानलाई थप प्रभावकारी बनाउँदै व्यवसायमैत्री वातावरण निर्माणका लागि संयुक्त रूपमा अघि बढ्नुपर्ने उनले बताए ।
नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष ढकालले व्यापार व्यवसायको विकाससँगै व्यवसायीहरूले सामाजिक उत्तरदायित्व बहन गर्न पनि सक्रिय हुनुपर्नेमा जोड दिए । व्यवसायीका साझा समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधानका लागि पहल गर्नुपर्ने बताउँदै उनले व्यवसायीबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउन निरन्तर भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ रूपन्देहीका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम भट्टराईले सम्मान तथा स्वागतका लागि रूपन्देही व्यापार संघप्रति आभार व्यक्त गर्दै औषधी व्यवसायलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन आफ्नो नेतृत्वले प्राथमिकताका साथ काम गर्ने बताए । उनले व्यवसायीका साझा समस्या समाधानका लागि अन्य व्यावसायिक संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, सैनामैना व्यापार संघका नवनिर्वाचित अध्यक्ष देविदत्त सुवेदीले व्यवसायीबीचको एकता र सहकार्य नै व्यापारिक क्षेत्रको विकासको आधार भएको बताए । उनले सैनामैनाका व्यवसायीका समस्या तथा आवश्यकताका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने बताउँदै रूपन्देहीका व्यापारिक संघसंस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाउने धारणा राखे ।
कार्यक्रममा रूपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले व्यवसायीहरूबीच परिचय, अनुभव र विचार आदान–प्रदानले आपसी सम्बन्ध थप सुदृढ हुने बताए । उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै व्यवसायीका साझा सवालमा सबै संघसंस्था एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । संघका द्वितीय उपाध्यक्ष मनहरि बस्यालले व्यापारिक क्षेत्रको विकासका लागि स्वस्थ प्रतिस्पर्धासँगै आपसी सहकार्य आवश्यक रहेको बताए । उनले नयाँ नेतृत्वसँग सहकार्य गर्दै व्यवसायीका हकहित तथा व्यावसायिक वातावरण सुधारका विषयमा संघले निरन्तर पहल गर्ने संघका महासचिव प्रकाशराज पौडेलले बताए ।




















