काठमाडौँ । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो लगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ। हाल विभिन्न क्षेत्रमा वर्षा भइरहेको अवस्थामा सम्भावित जोखिमप्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको हो।
निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद् निम्तिन सक्ने र त्यसबाट दुर्घटना, चोटपटक तथा अन्य जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न मन्त्रालयले आग्रह गरेको छ ।
त्यस्तै, आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न, विपद्का समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक व्यवस्थापन गर्न तथा बिरामी स्थानान्तरण र रेफरल सेवालाई सहज बनाउन भनिएको छ । एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई प्रभावकारी बनाउन तथा आवश्यकताअनुसार संघीय र प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
समन्वयका लागि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रकी सम्पर्क व्यक्ति श्रेया सुवेदी–९८०९४१३८३४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । प्रदेशगत सम्पर्क व्यक्तिमा कोशीमा डा. रामहरी रेग्मी–९८४१३२४२४५, मधेशमा फुलेन्द्र यादव–९८११९४२७६०, बागमतीमा दिनेश रुपाखेती–९८५५०२६८३६, गण्डकीमा डा. रोशन ढकाल–९८४९७६२५०१, लुम्बिनीमा डा. शिशिर गिरी–९८४१४६५८५३, कर्णालीमा श्यामलाल आचार्य–९८५८०४७४७६ र सुदूरपश्चिममा हेमराज जोशी–९८४८७२०९९८ रहेका छन् । मन्त्रालयले थप जानकारी तथा सहयोगका लागि निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।





















