काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ वटा समस्याग्रस्त सहकारीका ७९ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समितिका अनुसार गोर्खा सहकारीका २५, गौतमश्रीका ६, शिव शिखरका १३, आइडियल यमुना सहकारीका ३, ओरिएन्टल को–अपरेटिभका ३ र कान्तिपुर सहकारीका २९ जना बचतकर्तालाई रकम फिर्ता गरिएको हो ।
समितिले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने गरिएको जनाएको छ । पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिएको र आगामी चरणमा बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिने समितिको भनाइ छ ।
सम्बन्धित सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट बचतकर्ताको बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनबमोजिम निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ ।



















