Spread the love

बुटवल, ५ असोज । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई थप सुदृढ गर्दै उत्कृष्ट, अनुशासित र उच्च मनोबलयुक्त प्रहरी संगठन निर्माणमा जोड दिएका छन । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक–२०८३ लाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले प्रहरी संगठनको कार्यसम्पादनमा एकरूपता कायम गर्दै नागरिकलाई प्रभावकारी, भरपर्दो र विश्वासयोग्य सेवा प्रवाह गर्न निर्देशन दिएका हुन ।
प्रहरी कर्मचारीलाई उत्साह र उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्नुपर्ने भन्दै उनले योग्यता, क्षमता र कार्यसम्पादनका आधारमा प्रहरी जनशक्तिको उचित व्यवस्थापन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव थियो । महानिरीक्षक कार्कीले बदलिँदो सुरक्षा चुनौतीअनुसार अपराधका प्रवृत्ति र जोखिमको विश्लेषण गरी जोखिममा आधारित प्रहरी परिचालन गर्न निर्देशन दिए । प्रमाणमुखी अनुसन्धान र प्रविधिको रणनीतिक प्रयोगमार्फत अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

विगतका घटना तथा अनुभवको पुनरावलोकन गर्दै सूचना सङ्कलन र विश्लेषणका आधारमा एकीकृत सुरक्षा योजना बनाएर सक्रियताका साथ कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै, सुशासन, अनुशासन, आन्तरिक उत्तरदायित्व र व्यावसायिक कार्यसम्पादनलाई प्रहरी संगठन सुदृढीकरणको आधार बनाउनुपर्ने उनको भनाइ थियो । केन्द्रदेखि प्रदेश तथा मातहतका सबै प्रहरी कार्यालयबीच आवश्यक समन्वय र कार्यसम्पादनमा एकरूपता कायम गर्दै देखिएका कमीकमजोरी सुधार गर्न उनले निर्देशन दिए । बैठकमा समीक्षा गरिएका विषयलाई छलफलमा मात्र सीमित नराखी प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आगामी कार्ययोजनामा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने महानिरीक्षक कार्कीले बताए ।

बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानवस्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौती र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्