बुटवल । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर बुटवल–११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलले ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उनीहरूकै घरमा पुगेर सम्मान गरेको छ । विद्यालयका प्राचार्य शंकर भण्डारीसहित सहप्राचार्य भीम बस्नेत र शिक्षकहरूको टोलीले बुटवल–११ का ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दोसल्ला, प्रमाणपत्र, नगद तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो ।
सम्मानित हुनेमा ९५ वर्षीया बदमकुमारी, ९४ वर्षीय ईश्वरी अर्याल, ९४ वर्षीया कुमकान्ति बस्याल, ९४ वर्षीया रम्बामती थापा मगर, ९३ वर्षीया विष्णी दर्लामी, ९२ वर्षीया रामिशरा गुरुङ र ९७ वर्षीय रणबहादुर थापा रहेका छन् । उनीहरूलाई हर्लिक्ससमेत प्रदान गरिएको थियो ।
सम्मान ग्रहण गर्दै ९७ वर्षीय रणबहादुर थापाले आफू नेपाली सेनाबाट अवकाश लिएपछि पनि अध्ययनलाई निरन्तरता दिएको बताए । विद्यालयले घरमै आएर सम्मान गर्दा शिक्षाको महत्व अझ उजागर भएको उनले बताए । ९३ वर्षीया विष्णी दर्लामीले विद्यालयको सम्मानले वृद्धावस्थामा थप ऊर्जा मिलेको बताइन् । त्यस्तै, बुटवल–११ कालिकानगरकी लक्ष्मी थापाले चिनजानसमेत नभएको विद्यालयले ज्येष्ठ नागरिकलाई खोज्दै घरमै आएर सम्मान गरेकोमा खुसी व्यक्त गरिन् ।
प्राचार्य भण्डारीले शिक्षा विद्यालय र पाठ्यक्रमको घेराभित्र मात्र सीमित हुन नहुने भन्दै स्वास्थ्य तथा उमेरका कारण ज्येष्ठ नागरिकलाई विद्यालयमै बोलाउन कठिन हुने भएकाले घरमै पुगेर सम्मान गरिएको बताए । ज्येष्ठ नागरिकको जीवन अनुभव नयाँ पुस्ताका लागि महत्वपूर्ण ज्ञान भएकाले विद्यालयले त्यस्ता अनुभवलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ कार्यक्रम राखेको उनको भनाइ छ ।



















